
राजविराज, फाल्गुन २४ - विभिन्न कार्यक्रम गरी मुलुकभर अन्तर्राष्ट्रिय नारी दिवस मनाईरहेको बेला सप्तरी सदरमुकाम राजविराजमा शनिवार एक मुस्लिम महिलालाई जलाएर हत्या प्रयास गरिएको आंशका गरिएको छ । राजविराज नगरपालिका ७ की २६ वर्षीय नजराना खातुनलाई आगो लगाएर हत्याको प्रयास गरिएको हो । राजविराज ७ स्थित आफ्नै घरको कोठामा सुतिरहेको बेला करिब दिउँसो २ बजे अचानक नजरानाको कोठामा आगलागी भएको हो । घरबाट धुवाँ आएको र कसैले चिच्याएको आवाज सुनेर घटनास्थल पुगेका छिमेकीहरुले नजरानालाई उद्दार गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याएका हुन् । घाइते नजरानाको अञ्चल अस्पतालमै प्राथमिक उपचार गरिएको र उनको शरीरको ९० प्रतिशत भाग जलेको अस्पतालस्थित आकास्मिक कक्षले जानकारी दिए । उनी बोल्न समेत नसक्ने अवस्थामा छिन् । नजरानालाई सघन उपचारका लागि अञ्चल अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको छ । यता नजराना सुतेको कोठामा भने आगलागीबाट सामान्य क्षति भएको छ । घटना घटेको बखत नजरानाको घरमा कोही नभेटिनु, घटनास्थलबाट मट्टीतेलको गन्ध आउनु र नजरानाकी सासुसहितका तीन जना महिला छिमेकीको घरमा फेला पर्नुजस्ता कारणहरुले उनको हत्या प्रयास भएको छिमेकीहरुको आशंका छ । घाइते नजरानाकी पति गुडु अन्सारी भने पन्ध्र दिनअघि रोजगारीकालागि साउदी अरब गएका छन् । छिमेकीहरुका अनुसार घाइते नजरानासित उनकी सासु बानो खातुन र देउरानी नुरजहाँसित पटक घरायसी विवादले झैझगडा हुँदै आएको थियो । अस्पतालमा भेटिएका घाइते नजरानाकी ससुरा महमुद अन्सारीले आफुलाई अचानक जानकारी आएपछि अस्पताल पुगेको बताए । 'राजविराजमै रहेको पसलमा थिएँ', सञ्चारकमीहरुसित उनले भने, 'एक छिमेकीले घटनाबारे जानकारी दिएपछि अस्पताल आएको हुँर । घटनाबारे मलाई केही जानकारी छैन् ।' जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी राजकुमार बैदवारले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । 'घाइतेको स्थिति नाजुक रहेकाले हामीले पहिल्यै उपचारलाई प्राथमिकता दिएका छौ', उनले भने, 'अनुसन्धानपछि हत्या प्रयास भएको हो वा होइनौं निश्कर्षमा पुग्नेछौं ।' जलेर गम्भीर घाइते नजराना खातुनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचार गरिँदै ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !