
१ चैत, विराटनगर । टोलाउने रोगको उपचारका लागि धामीको शरणमा गएका विराटनगर-१५ का ३५ वर्षीय जीवनप्रसाद भट्टराई १० महिनादेखि बेपत्ता छन् । उनी सुनसरीको औराबनीका धामी भारतलाल चौधरीकहाँ झारफुकका लागि पुगेका थिए । धामीले घरमा राखेर १५ दिन उपचार गरेपछि बिराम चट्टै निको पार्छु भनेपछि गत १८ वैशाखमा छोरालाई जिम्मा लगाएको बाबु माधवप्रसादले बताए । तर, जीवनप्रसाद त्यसपछि घर फर्किएर आएका छैनन् । न त उनी धामीसँग नै छन् । भारतलालले ‘तिम्रो छोरा चिया खान गएका वेला कता गयो फर्केर आएन हामी जाँन्दैनौँ’ भनेको माधवप्रसादले बताए । छोरो खोजिदिन प्रहरीमा किटानी जाहेरी दिए पनि चासो नदिएको परिवारको गुनासो छ । बाबु माधवप्रसादले भने, ‘अदालतको आदेशले धामीविरुद्ध किटानी जाहेरी दर्ता गरायौँ । तर, प्रहरीले पक्राउ गरेर अनुसन्धान नै गर्न चाहेन ।’ सुरुमा प्रहरीले मुद्दा दर्ता नगरेपछि भट्टराई परिवार अदालत गएको थियो । शिक्षामा स्नातक गरेपछि मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गर्दै गरेका विवाहित जीवनप्रसाद वेलावेला पढाइको तनावमा पर्थे । तनावले कहिलेकाहीँ घन्टाँै एकोहोरिरहने गर्थे । छोरालाई टोलाउने अनौठो रोग लागेपछि भूतप्रेत लागेको र धामीले मात्रै विश्वास गर्न सक्ने ठानेर त्यहाँ लगेको बाबुको भनाइ छ । पहिले जीवनलाई विराटनगर ५ की सन्तोषी माता भन्ने धामीले झारफुक गरेकी थिइन् । तर, निको पार्न नसकेपछि औराबनीमा रहेको नामी धामीबाबा भारतलालले बिराम निको पार्न सकने भन्दै सम्पर्क गराइदिएकी थिइन् । त्यसपछि केही दिन धामी भारतलालले विराटनगर १५ स्थित जीवनको घरमै आएर धारफुक गरेका थिए । तर, बिराम निको नभएपछि भारतलाले आफू नामी धामी भएको र तन्त्रमन्त्र फुकेर घरेलु औषधि पनि बनाउने जान्ने भएकाले १५ दिन आफ्नो घरमा राखेर उपचार गराएमा च्वाट्टै पारिदिने बताए । त्यसपछि १८ बैशाखमा जीवनलाई आफ्नो घर औराबनी लिएर गएका थिए । तर, २२ वैशाखमा चिया खान गएका जीवन फेरि फर्केर नआएको भन्दै धामीले बाबु माधवलाई जानकारी गराएको नयाँ पत्रिकामा खबर छ ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !