
२८ फाल्गुन, काठमाडौं - गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। ‘ढकाल समुधुर साँझ’ नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्। ‘हरेक दस वर्षमा एउटा एकल साँझ गर्ने योजना थियो। त्यही अनुसार २०४५ साल र २०५५ सालमा दुइटा एकल साँझ भएका थिए’, ढकालले मंगलबार सञ्चारकर्मीसँग भने, ‘तर बीचको समयमा विविध कारणले गर्दा चाहेको समयमा गर्न सकिएन। पाँच वर्ष ढिलो भए पनि निरन्तरता दिन लागेका हौं।’ ढकालले २०४५ सालमा १२ वर्षको उमेरमा ‘ढकाल सुमधुर साँझ’ गरेका थिए। सोही साँझको गायनबाट नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुन सफल ढकालले २०५५ सालमा दोस्रो एकल साँझ गरेका थिए। तेस्रो एकल साँझ चैत ३० मा होटल याक एन्ड यतीमा हुन लागेको हो। आयोजक ग्रीष्मा इन्टरटेनमेन्टका प्रमुख गीरेन्द्र घिमिरेले एकल साँझलाई भव्य बनाउन कुनै कसर नराखिने बताए। ‘ढकालको एकल साँझ अहिलेसम्मकै भव्य हुनेछ। विदेशी कलाकारले मात्र गतिलो प्लेटफर्म पाइरहेको अवस्थामा हाम्रै कलाकारलाई त्यस्तो प्लेटफर्म किन नदिने भनेर ढकाललाई प्रस्तुत गर्न लागेका हौं,’ घिमिरेले भने। एभिड म्यानेजेन्टको सहयोगमा हुन लागेको कन्सर्टमा २५ जना वाद्यवादकले ढकाललाई साथ दिनेछन्। २५ मध्ये आठ भ्वाइलिनवादकको टोली दार्जिलिङबाट आउन लागेको ढकालले जानकारी गराए। कार्यक्रमको टिकट पाँच हजार रुपैयाँ तोकिएको छ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !