
काठमाडौं, जेष्ठ ६ - सुनको मूल्य आइतबार एकै दिन प्रतितोला ६ सय ५० रुपैयाँले घटेर दुई वर्षयताकै न्यून बिन्दुमा पुगेको छ । पहेंलो धातु आइतबार नेपाली बजारमा ४९ हजार १ सय रुपैयाँमा कारोबार भयो । एक महिनाअघि ४९ हजार ५ सय पुगेर बढ्न थालेको सुनको मूल्य गत साताको निरन्तर गिरावटपछि अन्तर्राष्ट्रिय मूल्य पछ्याउँदै तल झरेको हो । अमेरिकी अर्थतन्त्र बलियो भएर डलर मजबुत भएका कारण सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको विश्लेषण छ । साधारणतया डलर र सुनबीच विपरीत सम्बन्ध हुन्छ । सुन र डलर लगानीका मुख्य माध्यममध्ये पर्छन् । महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबारप्रति औंस सुन २० डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस -एक औंस बराबर २ तोला ६७ लाल) १ हजार ३ सय ८० अमेरिकी डलरमा कारोबार भएको थियो । आइतबार घटेर प्रतिऔंस १ हजार ३ सय ६० अमेरिकी डलरमा कारोबार भयो । अमेरिकी अर्थतन्त्रको सुधारसँगै सेयर बजार उकालो लाग्नु, जापान, अस्टे्रलिया र युरोपेली मुलुकमा ब्याजदर बढेकाले पनि सुन मूल्यमा प्रभाव परेको हो । सुन र सेयर बजारको पनि विपरीत सम्बन्ध हुन्छ । लगानीका अन्य क्षेत्रमा विकल्प हुँदा सुनको कारोबारमा शिथिलता देखिन्छ । सुनभन्दा सेयरमा हुने नाफा -पुँजीगत लाभ) बढी हुने हुँदा अर्थतन्त्र स्थिर हुँदा सेयर बजारमा लगानीकर्ता आकषिर्त हुन्छन् । डलर निरन्तर मजबुत हुँदै गएकाले सुनको मूल्य अझ घट्ने सम्भावना रहेको महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताए । 'डलरसँगै अमेरिकी सेयर बजारमा पनि सुधार भएको छ,' उनले भने, 'त्यसैले सुनको मूल्य २/३ महिना थप घट्ने सम्भावना छ ।' नेपालमा पनि १ डलर किन्न करिब ८८ रुपैयाँ खर्चिनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटेकाले स्थानीय बजारमा प्रभाव परेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले पनि अन्तर्राष्ट्रिय बजारअनुसार नै मूल्य निर्धारण हुने हुँदा घटेको बताए । ६ महिनाअघि सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ६१ हजार ८ सय रुपैयाँ पुगेको थियो । आइतबार चाँदीको मूल्यमा पनि ४ रुपैयाँले घटेको छ । महासंघका अनुसार प्रतितोला चाँदी ८ सय ५० रुपैयाँमा खरिदबिक्री भएको छ ।
बजारमा अभाव
विवाहको सिजन भन्दै राष्ट्र बैंकले दैनिक बिक्रीको कोटा ५ किलो बढाएर २० पुर्याए पनि बजारमा सुन अभाव देखिएको छ । सुनको मूल्य घटेपछि स्थानीय बजारमा सुनको अभाव भएको व्यवसायी बताउँछन् । 'सुनको भाउ घटेकाले सुन किन्ने ग्राहक बढ्दो छ,' निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले भने, 'तर मागअनुसार पूरा गर्न सकेका छैनौं । यस्तै अवस्था भइरहे पसल खोल्न सकिँदैन ।' सिजनको बेला सुनको आपूर्ति नै कम भएकाले झन् समस्या भएको उनको भनाइ छ । राष्ट्र बैंकले जेठदेखि असार मसान्तसम्म दैनिक सुन आयातको कोटा १५ बाट २० किलो बनाइसकेको छ । व्यवसायीका अनुसार सिजनमा सुनको माग दैनिक ४० किलोसम्म पुग्छ । '५ किलो थपेर मात्रै सुनले माग धान्न गाह्रो छ,' शाक्यले भने । एक महिनाअघि पनि सुनको भाउ घटेपछि बजार अनुगमनको विरोध भन्दै व्यवसायीले कारोबार बन्द गरेका थिए । कम मूल्यमा सुन बेच्न नचाहेकाले बजार बन्द गरेको आरोप त्यतिखेर उपभोक्तावादी संस्थाहरूको थियो ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !